Home / Breaking News / यी हुन् मनिपाल अस्पताल र डाक्टरका कमजोरी

यी हुन् मनिपाल अस्पताल र डाक्टरका कमजोरी

सुनाखरी संवाददाता

पोखरा, १६ वैशाख
कागबेनी दुर्घटनामा घाइते भएकाको मणिपाल शिक्षण अस्पतालले उपचार गर्न नमानेको विषयमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । घटनालगत्तै स्वास्थ्य मन्त्रालयले गठन गरेको समितिले अस्पताल प्रशासन र डाक्टर दुबैलाई दोषी ठह¥याएको छ ।
प्रतिवेदनमा अस्पताल प्रशासन र डाक्टरका कमजोरी छुट्टाछुट्टै बुँदामा उल्लेख गरिएको छ । जस अनुसार अस्पताल प्रशासनका पाँच र आन्दोलनरत डाक्टरका निम्न गल्ती देखिएका छन् ।
अस्पतालका गल्ती
१. अस्पतालले आफू मातहतका कर्मचारीलाई विगतका सम्झौता अनुसार काम लगाउन नसकेको
२. अस्पतालका ६५ जना डाक्टर आन्दोलनमा नभए पनि उनीहरुलाई १५ जनाको उपचारमा संलग्न गराउन नसकेको
३. अस्पतालको ‘डिजास्टर प्लान’मा कुनै पनि गम्भीर अवस्थामा प्रशासनले सबैलाई सूचना दिई तत्काल सेवामा आउन आव्हान गर्नुको सट्टा बिरामी अन्यत्र रिफर गरेको
४. इमर्जेन्सीमा कार्यरत मेडिकल अधिकृत, नर्सहरु र अन्य सहयोगी बिरामी ल्याइरहेको हेलिकोप्टर अस्पताल नजिकै अवतरण गरिसकेपछि बिरामी लिन जाँदा पनि निर्देशकले बिरामीलाई अस्पतालमा नल्याएर बाहिर लैजान आदेश दिएको
५. अस्पताल र यातायात व्यवसायीको सम्झौता बमोजिम तत्काल उपचार दिनुपर्नेमा पूर्व सूचना दिँदा पनि उपचार नगरेको भेटिएको छ ।
डाक्टरका गल्ती
डाक्टरहरूले अस्पताल प्रशासनसँग पूर्णकालीन काम गर्ने प्रतिवद्धता गरी सम्झौता गरेपछि आफूलाई अन्याय भएको महसुस भएमा कानूनी बाटो रोज्नुपर्नेमा अस्पताल जस्तो अत्यावश्यक सेवामा अवरोध पु¥याएर मानवीय संवेदनशीलताको समेत वेवास्ता गरेको भेटिएको छ । जसलाई छानविन समितिले अत्यावश्यक सेवा सञ्चालन एने २०१४ उल्लंघन गरेको समितिले ठह¥याएको छ ।
डाक्टहरू अस्पतालमा हाजीर गर्ने, त्यसैका आधारमा तलब र भत्ता लिने तर त्यहाँ सेवा नदिइ बाहिर र निजी स्वास्थ्य संस्थामा जाने गरेकोसमेत पाइएको छ । यसले अस्पतालमा उनीहरुको सेवा लिन आउने अरु बिरामी पनि निजी क्लिनिक र अस्पतालमा जान बाध्य भएको भेटिएको छ । आफ्ना माग पूरा गराउन विरोध र दबाब दिँदा सेवाग्राहीलाई मर्का नपर्ने गरी गर्नुपर्नेमा बिरामीको उपचार नगरी सेवामा अवरोध र्पुयाएको पनि छानबिन समितिले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा छानबिन टोली गठन भएको थियो । समितिले स्थलगत छानबिनपछि शुक्रबार स्वास्थ्य मन्त्री गगन थापालाई प्रतिवेदन बुझाएको मन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालले बताए । उनका अनुसार मन्त्री थापाले छानबिनमा अस्पताल र डाक्टर दुवै दोषी देखिएकाले कानूनी राय सल्लाह लिई दुवै पक्षलाई कडा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् । कटुवालले भने, ‘मन्त्रीको निर्देशन अनुसार कानूनी राय लिने काम गरिरहेका छौं । केही दिनमा हामी मणिपाल अस्पताल र डाक्टरलाई कारबाही गर्नेछौं ।’