Home / Health / महेन्द्रपुलमा निशुल्क मधुमेह र मृगौला जाँच

महेन्द्रपुलमा निशुल्क मधुमेह र मृगौला जाँच

पोखरा, १६ वैशाख
बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्ध विशाल बजार, महेन्द्रपुलले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार गरेको मधुमेह तथा मृगौलासम्बन्धी निःशुल्क रक्त परीक्षण शिविरमा करिब २ सयको निःशुल्क परीक्षण गरिएको छ ।
सहकारीको १० औं स्थापना दिवसमा सेयर सदस्य र सर्वसाधारणलाई स्वास्थ्यबारे सचेतना दिन र सहज रुपमा सेवा उपलब्ध गराउन कार्यक्रम गरिएको हो । वरिष्ठ फिजिसियन डा. मुकुन्दप्रसाद आचार्यले जीवनशैली, वातावरण, खानपानकै कारणले अधिकांश नसर्ने खालका रोग लाग्ने भएकाले स्वास्थ्य रहन त्यसै अनुरुपको जीवनशैली अपनाउनु जरुरी भएकोमा जोड दिए । उनले मधुमेह र मृगौलाका रोगबाट धेरै नेपाली पीडित भएकाले यी रोग लाग्नै नदिन पूर्वसावधानी र लागेसकेको भए उचित उपचार समयमै गर्न उनले आग्रह गरे ।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. दीपेन्द्रमान श्रेष्ठले विश्वभर नै क्यासर बढिरहेको र नेपालमा स्तन क्यानसर भयावह हुँदै गएकाले यसबारे सजग हुन आग्रह गरे । बेला बेलामा क्यासरका लक्षण देखिए, नदेखिएको चाँच गर्न र देखिए बेलैमा विशेषज्ञको सेवा लिन उनले आग्रह गरे ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै सबैलाई स्वास्थ्य सेवासम्म पहुँच पु¥याउन युआरएलले सहयोग गर्दै आएको बताए । उनले हालसम्म ३५ वटा निशुल्क शिविरमा २० हजार बढीलाई निशुल्क सेवा दिइसकेको जानकारी दिए ।
सामाजिक उत्तरदायित्व वोध गर्दै पोखरा र आसपासमा जिल्लामा विभिन्न संघ, संस्थासँगको सहकार्यमा निशुल्क शिविर भइरहेको जानकारी दिँदै युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले शिविरमा सहभागिताका लागि अनुरोध गरेका छन् ।
सहकारीका अध्यक्ष नगेन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सदस्य लक्ष्मी कार्की भण्डारी, धन्यवाद ज्ञापन कार्यक्रम संयोजक शान्ति आचार्य र स्वागत महिला समिति सदस्य सम्झना रेग्मीले गरेकी थिइन् ।