Home / साहित्य / ‘प्रगतिवादी कविता परिवर्तनको औजार’

‘प्रगतिवादी कविता परिवर्तनको औजार’

पोखरा, २७ चैत
समकालीन प्रगतिवादी कविता परिवर्तनको औजार भएकाले वर्तमानका विसंगति, विकृतिमाथि प्रहार गर्दै सुसंगत जीवनको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिइएको छ । अहिलेको पुँजीवादी संस्कार, संस्कृति र समाजलाई बुझेर साहित्यमा अभिव्यक्त गर्नुपर्नेमा समाजको बुझाइमै समस्या भएको सरोकारवालाले औंल्याएका छन् ।
प्रगतिशील लेखक संघ नेपाल र प्रगतिशील लेखक संघ कास्कीले संयुक्त रुपमा शनिबार पोखरामा आयोजना गरेको अन्तक्र्रियामा प्राडा जगदीशचन्द्र भण्डारीले जनताको मुक्ति अभिष्टलाई पक्रेर प्रगतिवादी साहित्यकारले सिर्जना गर्नुपर्ने औंल्याए । ‘समकालीनता र प्रगतिशील कविताका मूल प्रवृत्ति’ शीर्षकको कार्यपत्र पेश गर्दै उनले समकालीन प्रगतिवादी कवितामा सर्वहारा आदर्श र मान्यता स्थापित हुन नसकेको यथार्थ चित्रण भएको उल्लेख गरेका छन् ।
कार्यपत्रमाथि टिप्पणी गर्दै संगीतस्रोताले समकालीन कविताले सबैजसो पाठकको ध्यान खिच्ने क्षमता राख्नुपर्ने बताए । अर्का टिप्पणीकार प्राडा यदुनन्दन उपाध्यायले समाज विश्लेषणसहित रुपान्तरणका उपाय कवितामा समेटिनुपर्ने धारणा राखे । प्रलेस कास्की अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष परशुराम कोइराला र सचिव विजया सुवेदीले सञ्चालन गरेकी थिइन् ।
शनिबारै भएको भेलाले प्रलेस प्रदेश नं. ४ भेला आयोजक समिति गठन गरेको छ । समितिको संयोजकमा डा. कृष्णराज अधिकारी र सदस्यमा अनील श्रेष्ठ, परशुराम कोइराला, नारायण परिश्रमी, भीम रानाभाट, स्ट्रगल राना, अर्जुन पौडेल (गर्जन), आनन्दसुन्दर श्रेष्ठ, कल्पना चिलुवाल, शैलज पौडेल, अर्जुनकुमार ढकाल, देवेन्द्र लम्साल र भक्त कार्की छन् ।